Dobato
  Dobato  

 literature is a kind of poison. www.freewebs.com/dobato 

    

 
 

Home | Kavita | Gazal | geet | Heiku/taankaa | Muktak | Send your articles | Photo Gallery | Chat_room | Guestbook | other links | About us |


 

 
7th,july2006
   

 आमाको नाममा                                                                                                                                

                            - नारायणी देवकोटा
हरेक पल्ट
मेरो नामसँगै
नसोध्नु मेरो बाबुको नाम
मलाई विश्वास छैन
मेरो नागरिकतामा
बाबु भनेर लेखिएको पुरुष
साँच्चिकै मेरो बाबु हो भन्

तपाईँ सोध्न सक्नुहुन्छ
मेरी आमाको नाम
जसको मैले दूध खाएर बाँचे
ठूली हुँदासम्म
जसले मेरो हर आवस्यकतामा साथ दिइन्
म रुँदा
फरियाको सप्कोले तिनैले आँसु पुछेकी हुन्
कृपया
तपाईँसँग थोरै भए पनि
चेतना बाँकी छ भनेँ
सोध्दै नसोध्नु बाबुको नाम
हो
मेरो रगतले उसैकी छोरी भन्ला
के मेरी आमालाई
बलात्कार गर्दैमा ऊ मेरो बाबु हुन्छ?

बाबु लेख्न र देख्नका हुन्छन्
आमालाई पशु सम्झने संस्कारमा
मैले बाँच्नका लागि
लेख्नै पर्यो
त्यसलाई बाबु भनेर
तथापि
फेर्नु थियो देशको कालो कानुन

गर्नु थियो संघर्ष
हो
मैले काला कानुन फेर्नै लडेकी हुँ
मेरी आमाका आँसु रोक्न
बगाएकी हुँ रगत
तिनीहरूले भने जस्तै
मैले
म र म जस्तैका लागि लडेकी हुँ
त्यसैले
जसले आफ्नो ज्यान बाजी लगाएर
जन्म दिन्छ
ममताले भिजाएर जसले हुर्काउँछ
उसैको नाम लेखिनु पर्छ
अरुले लेखुन् वा नलेखुन्
मैले लेख्न पाउनुपर्छ
त्यसैले
हरेक पल्ट
नसोध्नु मेरो बाबुको नाम
म मान्दिन
मेरी आमालाई बैधानिक बलात्कार गर्ने पुरुष
मेरो बुवा हुनै पर्छ भनेर!


____________________________________________________

This Site has been designed for 800x600 resolution and Macromedia Flash Player 5. ________________________________________________________________________________ 

 
  © Dobato internet literary magazine.
 

 

 

Create a free website at Webs.com